होटल तथा पर्यटन सूचक हालसम्मकै उच्च बिन्दुमा

0
Shares

होटल तथा पर्यटन सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि २०८० पुस ३ गते होटल समूहको सूचक ६०८८.४३ विन्दुमा पुगेर सो समयमा उच्च रेकर्ड बनाएकोमा साउन ३ गते बिहीबार उक्त अलटाइम हाइ’ को रेकर्ड तोडिएको हो ।

साउन ३ गते बिहीबार होटल तथा पर्यटन समूहको सूचक १.०४ प्रतिशतले बढेर ६१४५.५१ अंकमा पुगेको हो । उक्त सूचक आइतबार ४.२१ प्रतिशत बढेर ६४०४ अंकमा पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । आइतबार नेप्से २.५२ प्रतिशतले बढेकोमा सोभन्दा बढी होटल तथा पर्यटन समूहको सूचकमा वृद्धि भएको हो ।

होटलमा सूचीकृत कुल ६ ओटा कम्पनी सूचीकृत छन् । जसमा सोल्टी होटल लिमिटेड, ओरियन्टल होटल लिमिटेड, चन्द्रागिरि हिल्स लिमिटेड, सिटि होटल लिमिटेड, कालिन्चोक दर्शन लिमिटेड र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।

आइतबार सूचीकृत होटलमध्ये सोल्टी होटलको मूल्य सबैभन्दा ७.२ प्रतिशत बढेको छ भने तारागाउँ रिजेन्सीको २.७, ओरियन्टल होटलको २.२, चन्द्रागिरि हिल्सको ३.१, सिटीको २.२ प्रतिशत मूल्य बढेको छ । कालिन्चोक दर्शन लिमिटेडको १.०१ प्रतिशतले घटेको छ ।
त्यसयता नेप्से नै १९६० अंकभन्दा तल झर्न सकेन ।

केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि नेकपाका उपाध्यक्ष विष्णु प्रसाद पौडेल अर्थमन्त्रीमा नियुक्त भए । सेयर बजार मैत्री छबी बनाएका अर्थमन्त्रीका कारण नेप्सेमा निरन्तर वृद्धि आउँदा होटल तथा पर्यटन समूहले उच्च रेकर्ड तोडेको हो । त्यसो त गत पुसमा नै नेप्से परिसूचक नेप्से २१०६ अंकमा हुँदा नै होटल तथा पर्यटन समूहले उच्च रेकर्ड बनाएको थियो ।

कोभिड संक्रमणका कारण थला परेको पर्यटन व्यवसयामा गत आवमा नै सुधार भएपछि चालु आवमा होटल तथा पर्यटन समूहले सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । नेपालमा घुम्न आउने देशमा विदेशी पर्यटकको संख्या बढेपछि तेस्रो त्रैमासिक वित्तीय विवरणमा होटलहरुको मुनाफामा उत्साहजनक वृद्धि भएको थियो । चौथो त्रैमासमा थप सुधारिएको वित्तीय विवरण आउने अपेक्षाका साथ लगानीकर्ताको सो समुहमा लगानी बढाएका हुन् । होटलहरुको चुक्ता पुँजी कम भएकाले लाभांश वितरण क्षमताका कारण पनि कम्पनीहरुको मूल्यवृद्धि तुलनात्मक रुपमा धेरै बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।