बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण

0
Shares

बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले आज मकवानपुरको हेटौंडामा आफ्नो पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्घीय सरकारले आफूलाई विश्वास गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएको बताउँदै उनले संवैधानिक दायरा अनुसार इमान्दारीपूर्वक काम गर्ने बताए ।

उनले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहकार्य गरेर कार्यसम्पादन गर्ने उल्लेख गरे । सो अवसरमा बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले आफू रहँदा संवैधानिक निकायसँग समन्वय र सहकार्य गर्दै प्रदेश सरकार तथा स्थानीय तहसँग निरन्तर सम्पर्कमा रही सुशासन कायम राख्न काम गरेको बताए ।

नवनियुक्त प्रदेश प्रमुख देवकोटालाई मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले स्वागत गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख देवकोटालाई बिहीबार काठमाडौँमा पद तथा गोपनीयता शपथ ग्रहण गराएपछि आज पदभार सम्हाल्न हेटौँडा आइपुगेका हुन् ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव गोविन्दबहादुर कार्की तथा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आजै नवनियुक्त प्रदेश प्रमुख देवकोटाले हार्दिकतापूर्वक बिदाइ गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।